उसले मलाई
चोकमा भेटिंदा भन्यो,
‘कमरेड के छ हालखबर ?’
कमरेड भनेको सुनेर, मेरो
कम्पारो तात्यो ।
न्वारान देखिको बल लगाएर
मुड्की भित्र ढुङ्गा जमाएर
बजाई दिउँ दिउँ जस्तो लाग्यो ।
यद्यपि,
बडो मुस्किलले रिस थामे
तर मन थामिएन ,
एक हुल जिज्ञासाहरु सँगै जुर्मुरायो
किन भन्यो ,त्यसले कमरेड ?
बरु मलाई उसले
चोर, फटाहा, डाँका, भनेको भए
दुई नम्बरी, भ्रष्टचारी र कालाबजारी
जे सुकै भनेको भए हुन्थ्यो ।
तर कमरेड नै किन भन्यो ?
बरु मलाई उसले
कोरोना रोगी ,एड्स रोगी कुष्ट रोगी
सँुगर, गोरु, गधा
या त्यो भन्दा ज्यादा
जे भनेको भए पनि हुन्थ्यो ।
तर त्यसले मलाई
कमरेड नै किन भन्यो ?
म अन्यौलमा छु ।
म भद्रगोलमा छु ।
कता कता हराएको
कता कता च¥याएको
उपमाको उपजमा गन्हाएको
नखाएको विषले छटपटाएको
एउटा वेहालको हालमा छु ।
एक प्रकारले बेहालमा छु ।








