म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ ।
शुक्रबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८-७ ले पराजित हुँदै युनाईटेड बाहिरिएको हो ।
खेलको निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा युनाईटेडका ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमीने, फ्रेड र हुवान माटाले गोल गरेपनि एन्थोनी इलंगा गोल गर्न चुकेपछी को हार पक्का भएको हो।
मिड्ल्सब्रोका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरे ।
खेल पेनाल्टीमा जानुअघि पहिलो हाफको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
त्यसअघि २० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले बाहिर प्रहार गरे ।
तर, खेलको ६४ औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सब्रोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।