फागु पर्वको पूर्वसन्ध्यामा प्राकृतिक कलाकेन्द्र तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । हिजो (१० चैत) मा मुख्य आकर्षण थिइन् समीक्षा । आयोजकले राम्रै प्रचारप्रसार गरेका थिए । समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् । दर्शकको घुइँचो लागेपछि स्टेज उक्लने आशामा होटलमै प्रतीक्षारत् थिइन् । कुर्दाकुर्दै बेलुकीको ५ बज्यो । तर, उनलाई आयोजकबाट स्टेज उक्लन फोन आएन ।
आयोजकले समीक्षालाई स्टेज उकाल्न नसक्नुको कारण थियो, दर्शक अभाव । जोडतोडका साथ समीक्षाको प्रचार गरिए पनि उनको प्रस्तुति हेर्न र सुन्न दंगाली दर्शक इच्छुक देखिएनन् । आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलका अनुसार समीक्षा आएको दिन जम्मा २३ वटामात्रै टिकट बिक्री भए ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले भने, ‘समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट हो ।’
दर्शकमात्र होइन, उक्त कन्सर्टमा दाङका चलचित्र पत्रकारसमेत गएका थिएनन् ।समीक्षाले २०७८ सल फागुन ११ गते पलविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतले पललाई जेल समेत पठाएको थियो । तर, उच्च अदालतमा समीक्षाले बयान फेरेपछि पलले सफाइ पाए । १ वर्ष जेल बसेर उनी निस्किएका थिए ।
जेलबाट निस्किएपश्चात पल दाङ आउँदा उनलाई हेर्न करिब १० हजार दंगाली दर्शकले एक हजार मूल्यको टिकट काटेका थिए । तर, समीक्षा आएको कन्सर्टमा एक सयको टिकट काट्न पनि दर्शक तयार नहुनुनुमा पलसँगको लफडा नै मुख्य कारण भएको स्वयम् आयोजक संस्थाका अध्यक्ष पौडेल बताउँछन् नेपाल प्रेसले लेखेको छ ।








