पाँचथरमा एक जना प्रहरी सहायक हवलदारको चट्याङ लागेर मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
मंगबार राति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा चौकीमा रहेका अन्य प्रहरीले पुर्याएका थिए । “प्राथमिक उपचारपश्चात् चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए”, कुशवाहाले भने ।
मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।








