पोखरा, चैत
महानगरका मेयर धनराज आचार्यले ठुली मजुवा स्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने १२ मिटर लम्बाईको पोखरा महानगरपालिका वडा नं –१५ मा मोटरेबल पुलको सोमबार शिलान्यास गरेका हुन् ।
सो शिलान्यास कार्यक्रममा बोल्दै मेयर धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको भोलिपल्ट नै पुलको शिलान्यास गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले पुलको लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । आचार्यले भने – ‘पैसा नभएको कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला।” उनले यस पुलको निर्माणले यहाँका स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले कम्पनीसँग २ करोड ३१ लाख २० हजार ४८७ मा पुल निर्माणको सम्झौता भएको बताए । १२ मिटर लम्बाई रहने पुलको दुबैतर्फ १.२ मिटरको फुटपाथ, ९ मिटर उचाइ र २०८१ फागुन १८ गते पुल निर्माणको अन्तिम म्याद रहेको पाण्डेले जानकारी दिए ।
कार्यक्रमका सभाध्यक्ष तथा वडाध्यक्ष तोरण बानियाँले यो पुल आफू वडाध्यक्षमा निर्वाचित भएर आउनु अगावै डिपीआर तयार भएर ५० लाख बजेट विनियोजन भएको र आफूहरू आइसकेपछि थप १ ५० लाख थपेर १ करोड बनाइए पनि बारम्बार ठेक्का आह्वान गर्दा ठेक्का प्रक्रियामा जान नसकिरहेको अवस्थामा बल्ल थप बजेटबाट पुल निर्माणको थालनी गर्न सम्भव भएको बताए ।
उनले यस क्षेत्रका अधिकांश बासिन्दा बसाइ सरी आएकाले यो पुलको निर्माणले दुई बस्तीलाई जोड्नुका साथै नयाँ आपसी सम्बन्धको विकास हुने आशा व्यक्त गरे । यही क्षेत्रमा रहेको फूलबारी होटेल सञ्चालनको विषयलाई लिएर बारम्बार आवाज उठाइरहेको बताउँदै होटेल सञ्चालनमा ल्याउन सके यही क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने उनले अपेक्षा गरे । वडा नं १५ को विकासमा अगाडि बढ्नुपर्छ भनेर महानगरबाट निरन्तर सहयोग प्राप्त भइरहेकोमा अध्यक्ष बानियाँले मेयर आचार्यलाई धन्यवाद दिए ।
वडा सदस्य आशिष भण्डारीले सञ्चालन गरेको शिलान्यास समारोहमा वडाका निवर्तमान जनप्रतिनिधि तथा कर्मचारी, ९ नं वडा र १७ नं वडाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, संरचना टोल र सुनौलो मार्गका स्थानीयसहित आमा समूह लगायतको उपस्थिति रहेको थियो ।








