२ चैत २०८०, पोखरा
पोखरा भारतीय आर्मीका ५/८ जि.आर. (सिरमूर राइफल्स) स्थापना भएको ८३ वर्ष पुगेको अवसरमा भू.पू. परिवार, पोखराद्वारा आयोजित ८३ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम आज चैत २ गते पोखरा-१२ स्थित रहेको एस.आर. केसी क्याटरिङ पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

“काफर हुनुभन्दा मर्नु निको” भन्ने मुल नाराका साथ १९४१ मार्च १५ तारिख स्थापना भएको 4th BATTALION 2nd KEO (SIRMOOR) बाट १९४८ फेब्रुअरी १७ तारिख 5th BATTALION 8th गोर्खा राइफल्स (SIRMOOR) स्थापना भएको हो । आज आयोजित स्थापना दिवस तथा सम्मान कार्यक्रम ५/८ जि.आर. (सिरमूर) भू.पू. परिवार, पोखराका अध्यक्ष ह.क्या. भुपरजंग गुरुङको अध्यक्षतामा र ह.क्या. तिलक राज गुरुङ (देहरादुन) को प्रमुख आतिथ्यतामा भू.पू. परिवार, पोखराका सचिव ह.सु.मे. मानध्वज गुरुङको सञ्चालनमा र उपाध्यक्ष ह.सु.मे. धन प्रसाद शर्माले स्वागत गरेका थिए ।

यसैबीच भारतको बिनागुरीमा रहेको यो ५/८ जि.आर. पल्टनबाट आजको ८३ औं स्थापना दिवसका लागी ५ केस रम र रु. १६,०००/- नगद ५/८ जि.आर. (सिरमूर) भू.पू. परिवार, पोखरालाई सहयोग गरेको छ । यसैगरी भू.पू. परिवार, पोखराले ज्येष्ठ नागरिक भिसी हवल्दार कुल बहादुर गुरुङलाई प्रमुख अतिथि ह.क्या. तिलकराज गुरुङ र भू.पू. परिवार, पोखराको संस्थापक सल्लाहकार सु.मे.ह.क्या. लाल प्रसाद गुरुङको विशेष उपस्थितिमा सम्मान गरेको छ । आजको यस स्थापना दिवस समारोहमा देहरादुनदेखी, काठमाडौंदेखि र बृटिस आर्मीका २/२ जि.आर. का भू.पू. साहबहरुको सहभागीता रहेका थिए ।

यसैगरी आजैको कार्यक्रममा आर्मी नम्बर ५७५२६१३ हवल्दार शन्त बहादुर गुरुङको कान्छा छोरा (मिर्गौला पीडित) लाई ५/८ जि.आर. (सिरमूर) परिवार, पोखराको सक्रियतामा संकलित रकम रु. १,९२,८३५/- (एक लाख बयानब्बे हजार आठ सय पैंतीस) सहयोग गरेको छ । भने भू.पू. परिवार, देहरादुनबाट आजको प्रमुख अतिथि ह.क्या. तिलक राज गुरुङको संयोजकत्वमा देहरादुनमा संकलित रकम रु. १,३८,६००/- (एक लाख अठतीस हजार छ सय) सहयोग हस्तान्तरण गरेको छ । यसरी सम्पन्न भएको ५/८ जि.आर. (सिरमूर राइफल्स) को ८३ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा पोख्रेली नृत्य समूहले मनोरञ्जन दिएका थिए ।








