विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या गरेको अवस्थामा शव फेला परेको छ। सो घटनाबारेमा मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
चन्द्रिका कुमारी दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर-४ धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।
चन्द्रिका कुमारी दासलाई धारिलो हतियार प्रहार गरेर हत्यापछि शौचालयमा दिउँसो १२ बजेतिर शव फालेको अवस्थामा फेला परेको दाहालले बताए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट छ।
हत्यामा संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी छ। घटनामा संलग्न सो व्यक्ति हत्यापछि शव छाडेर फरार भएको डीएसपी दाहालले बताए। घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको डीएसपी दाहालले बताए।








