४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गायिका एलिना चौहानले फाल्गुण बिस गते साँझ कुश्मा बजारमा आफ्नो साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवको स्टेजमा गए पश्चात ध्वनिको विषयलाई लिएर प्राविधिकहरुसँग लफडा भयो।

एलिनाले गीत गाउने क्रममा ‘साउण्ड’ मिलाइदिन आग्रह गरेकी थिइन्। ‘साउण्ड’ मा समस्या भएको बताएपछि एलिनाको प्रस्नोतरमा प्राविधिकले ‘भोकल’ लाई क्लियर गरेर ‘लेबल’ माग्न भने। फेरि एलिनाले ‘पहिला तपाईंको त्यो बोल्ने ढङ्ग सुधार गर्नु है बुझ्नुभयो? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटि उफ्रेर हेर्नु त। तपाईंले मलाई सिकाउनु पर्दैन। बुझ्नु भयो। नाच्न जान्दैन आँगन टेढो भनेको यही हो क्या। मिलाउन आउँदैन। लाज लाग्दैन यस्ता बोल्नलाई।’ भन्दै उत्तर फर्काइन्।
प्राविधिक कक्षमा रहेका प्राविधिकले ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौँ।’ भन्दै एलिनालाई जवाफ फर्काए। सामाजिक सञ्जालमा विचार व्यक्त गर्नेहरू कोहीले प्राविधिकलाई गाली गरेका छन् त कोहीले एलिनालाई।
‘साउण्ड सिष्टम’ को व्यवस्थापन गर्दै आएका ६ जनाले एलिनाले प्राविधिकहरू माथि अभद्र व्यवहार गरेको भन्दै उनी सहभागी हुने कार्यक्रममा ‘साउण्ड सिष्टम’ नै उपलब्ध नगराउने घोषणा गरेका छन्।
जिके साउण्ड सिष्टमका गमबहादुर क्षेत्री, एसके साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिष्टमका मञ्जित जैसवाल, जोजिजु म्युजिक एण्ड साउण्ड सिष्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिष्टमका एविज गुरुङले संयुक्त रूपमा विज्ञप्ति नै निकालेका छन्।
जसमा एलिनाले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म एलिना सहभागी हुने कुनै पनि कार्यक्रममा ‘साउण्ड सिष्टम’ उपलब्ध नगराउने घोषणा गरिएको छ। प्राविधिकले यो प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यबद्धता जनाउन पनि अपिल गरेका छन्।
महोत्सवमा गायिका चौहानले गरेको व्यवहार अमर्यादित र अभद्र भएको भन्दै उनीहरूले ध्यानाकर्षणसहित खेद प्रकट गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘तर त्यही साउण्ड सिष्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउन्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौँ। गल्तीको महसुस गरी माफी नमागेसम्म एलिना चौहान सहभागी हुने कुनै पनि कार्यक्रममा ‘साउण्ड सिष्टम’ उपलब्ध नगराउने घोषणा गर्दछौँ।’
‘नाच्न नजान्ने आँगन टेढो रहेछ’ भनेर खोट लगाउने संस्कारको धङधङीबाट चौहान माथि उठ्नुपर्ने भन्दै व्यवसायीले ‘साउण्ड सिष्टम’ लाई दोष दिँदै प्रस्तुति गर्दागर्दै झर्कने , रिसाउने, घुर्की लगाउने, अपशब्द प्रयोग गर्ने क्रियाकलापले प्राविधिकलाई गम्भीर अघात पर्नुका साथै अपमान बोध भएको उल्लेख गरेका छन्।








