हाँस्यव्यंग्य कलाकार पवन खतिवडा म्याकुरीको वैवाहिक सम्बन्ध विघटनको लगभग संघारमा पुगेको छ ।
पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् ।
आफूलाई कानूनीरुपमा पन्छाएर पवनले अर्को विहेको बाटो खोल्न खोजेको उनको आरोप थियो । केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास गरेका थिए ।
तर, अहिले उनीहरु दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने भद्र सहमति गरेका हुन् । निकट स्रोतका अनुसार आइतबार उनीहरुको डिभोर्स केस फाइल हुन सक्ने छ । पवन आज पनि वकिल लिएर जिल्ला अदालत पुगेका थिए । अदालतले केही कागजातहरु अपुग भएको भनेर फर्काएको स्रोतले बतायो ।
पवन र सुम्निमाबीच सम्पत्तिको बाँडफाँटको विषयमा कुरा मिलेको छैन । सुम्निमाले आफ्नो ४० लाख रुपैयाँ पवनले सिध्याएको दाबी गर्दै आएकी छन् । पवनले चढिरहेको गाडी पनि आफ्नो पैसाले किनेको उनको भनाइ छ । पवनले भने आफ्नो आधा सम्पत्ति दिन तयार रहेको बताएका छन् । ४० लाख रुपैयाँ आफूले सिध्याएको भने उनी मान्न तयार छैनन् ।
पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘मैले ४० लाख रुपैयाँ खर्च गरेको प्रमाण दिनुपर्छ । यत्रो पैसा उनीसँग कहाँबाट आयो । उनले मेरो पैसाले किनेको ५–६ तोला सुन पनि नक्कली रहेछ । १८ लाखको गाडी किन्दा मेरो ६–७ लाख रुपैयाँ परेको छ ।’
सम्पत्तिको बाँडफाँड अदालतले नै निरोपण गर्नेगरी उनीहरु मुद्दामा जान सहमत भएका हुन् । रिह्याब सेन्टरबाट एक महिना अगाडि निस्केदेखि सुम्निमा पवनसँग बसेकी छैनन् । पवन र सुम्निमाको विवादमा आफूलाई अभियन्ता बताउने शर्मिला वाइवा घुसेकी थिइन् । शर्मिलाले सुम्निमा र उनकी बहिनीलाई साथ लिएर पवनमाथि हातपात समेत गरेकी थिइन् ।
उक्त घटनालाई लिएर पवनले शर्मिलाविरुद्ध जाहेरी दिए । शर्मिला पक्राउ पनि परिसकेकी छन् । तर, पत्नी सुम्निमाविरुद्ध भने पवनले जाहेरी दिएका छैनन् ।








