पूर्व युवराज पारस शाहले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा चर्चा भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् ।
भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न ढिला भएपछि पारसले पछाडिबाट हर्न बजाएको थियो र पारस गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।चितवनका एसपी भावेश रिमालले घटनाबारे जानकारी नभएको बताए । एसपी रिमाल भन्छन्,‘घटना हाम्रो नोटिसमा छैन ।’
बागमती प्रदेशका डीआईजी विष्णु केसीले पनि सो घटना प्रहरीको जानकारीमा नभएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै केसीले भने,‘भरतपुरमा कसैले पेस्तोल देखाएर हिँडेको घटना हामीलाई थाहा भएन ।’








