जनयुद्ध दिवस’को दिनदेखि सुरु भएर ३ दिनसम्म चलेको विधान अधिवेशनमा झण्डै १ हजार २०० जना प्रतिनिधि सहभागी थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको पहिलो दिनमै विधानको मस्यौदा प्रस्तुत गरेका थिए। अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको विधानको मस्यौदामाथि विभिन्न २० वटा समिति बनाएर समूहगत छलफल गरिएको थियो। समूहगत छलफलमा उठेका विषयहरु समूह नेताहरुले अधिवेशनमा राखेका थिए।
विधान अधिवेशनमा यसपटक सबैभन्दा जोडतोडका साथ उठेको विषय थियो– प्रतिस्पर्धात्मक विधिको अवलम्बन। पार्टी पदाधिकारीदेखि तल्लो तहका समितिको नेतृत्व चयन गर्न प्रतिस्पर्धात्मक विधि अपनाइनुपर्ने प्रमुख सुझाव थियो। अध्यक्षदेखि पदाधिकारीहरु प्रत्यक्ष चुनावबाट महाधिवेशन प्रतिनिधिले चयन गर्नुपर्ने आवाज विधान महाधिवेशनका अधिकांश प्रतिनिधिले उठाएका थिए।
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल विधान अधिवेशन हुनु नै उपलब्धि भएको मान्छन्। पहिलोपटक विधान अधिवेशन गरेर पार्टीको वैधानिक नीतिका सन्दर्भमा गम्भीर छलफल भएकाले यसलाई उपलब्धिकै रुपमा लिनुपर्ने उनको भनाइ छ।
‘यस प्रकारको छलफल माओवादीको जीवनकालमा पहिले भएको थिएन। यो पहिलो हो। पार्टीको विधान कस्तो हुने त भनेर कार्यकर्तादेखि नेतृत्व तहका व्यक्तिले अन्तर्क्रिया, छलफल गर्ने अभ्यासको थालनी भएको छ। यो सकारात्मक हो,’।
तर अहिले नै यो–यो कुरा भयो भनेर देखाउनका लागि ‘ठोस उपलब्धि’ हासिल नभएको गजुरेल बताउँछन्। अहिले सकारात्मक सुरुवात भएकाले उपलब्धि भयो कि भएन भनेर अन्त्यसम्म पर्खिनुपर्ने उनको भनाइ छ। ‘यो सुरुवात हो। सुरुवात सकारात्मक भएको छ। यो सुरुवात उपलब्धिमूलक हुन्छ कि हुँदैन भनेर त इन्डिङसम्म पर्खिनुपर्ला नि!,’ गजुरेलले भने।
नयाँ तरिकाले बहसको थालनी भएकाले यसलाई निरन्तरता दिँदा सकारात्मक परिणामहरु देखिने गजुरेल बताउँछन्। पार्टीले अब विशेष अभियान सञ्चालन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने भएकाले यसबीचमा पार्टी नीतिका सन्दर्भमा अझै व्यापक छलफल हुने उनको भनाइ छ।
विधान अधिवेशनमा छलफलका क्रममा धेरै कुरा उठेपनि केही विषय भने गम्भीर रुपले उठेको गजुरेलको भनाइ छ। खास गरेर पार्टी नेतृत्व चयनको पद्धतिमा गम्भीर रुपमा विषयहरुको उठान भएको उनी बताउँछन्। ‘नेतृत्व चयनका लागि चुनाव हुनुपर्छ भन्ने कुरा उठ्यो। त्यो ठिक हो। हामीमा लोकतान्त्रिक व्यवहारहरु बढ्दै गएको छ। पार्टी नेतृत्व चयनका लागि चुनाव हुनुपर्छ, तर जनवादी केन्द्रीयताको विषयलाई पनि त भुल्नु हुँदैन। जनवादी केन्द्रीयता भएन भने हामी कसरी कम्युनिस्ट हुन्छौं र?,’ गजुरेल प्रश्न गर्छन्।
पार्टीको आठौं महाधिवेशनमा उठेको ‘मूल्याङ्कन समिति’ बनाउने विषयलाई आत्मसात गरे ‘जनवादी केन्द्रीयता’को स्वस्थ अभ्यान हुने गजुरेलको भनाइ छ। ‘पार्टी महाधिवेशनले नै मूल्याङ्कन समिति बनाउँछ। त्यो समितिले पार्टीका अध्यक्षदेखि केन्द्रीय समिति र मातहतका अरु समितिका पदाधिकारी र सदस्यहरुको मूल्याङ्कन गर्छ। इमान्दारिता, अनुशासन, सक्रियता लगायत सूचकहरुको मूल्याङ्कन गरेर नम्बर दिने अभ्यास गर्नुपर्छ,’ गजुरेल भन्छन्, ‘महाधिवेशनबाट नेतृत्व चयन गर्दा एउटा मूल्याङ्कन समितिले दिने नम्बरलाई आधार मान्ने, अर्को महाधिवेशन प्रतिनिधिको मतलाई आधार मान्ने। जसले बढी अंक (मत) पाउँछ नेतृत्वमा त्यही चुनिन्छ।’







