नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टमाथि सोमबारको बैठकमा संश्लेषणसहितको आफ्नो धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको बताए । यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने जानकारी गराए ।
सो क्रममा प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीका साथसाथै वर्तमान सत्ता गठबन्धनको विषयमा समेत धारणा राखेका छन् ।
सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेको बैठक स्रोतले जानकारी दियो । उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् ।
‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो । तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा भने पुगेको उनको धारणा थियो ।
प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको समेत धारणा राखेका थिए । ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक पटक धक्का मिलेको छ’, प्रचण्डले भने । राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो ।
अबका दिनमा गठबन्धन भन्दा पनि आफ्नै धरातलमा चुनाव लड्ने गरी पार्टीले अभियान सञ्चालन गर्नुपर्ने समेत प्रचण्डले बताएको स्रोतको दाबी छ ।








