मेल्लेख गाउँपालिका–४ कुष्कोटस्थित आदर्श आधारभूत विद्यालयमा अध्ययनरत बालबालिहरु चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् ।
एक कक्षादेखि आठ कक्षासम्म पठनपाठन गरिदै आएको आदर्श आधारभूत विद्यालयमा चार कक्षादेखि आठ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुका लागि बस्नलाई टेबल र बेञ्चको सुविधा भए पनि कक्षा एकदेखि कक्षा तीनसम्म अध्ययनरत १ सय ३९ जना विद्यार्थी कक्षा कोठाको अभावमा एउटै कोठामा विगत चार महिनादेखि चिसो भुईमा बसेर पढ्न बाध्य छन् ।
विद्यालयमा आवश्यक बजेटको अभाव, सरकारको लापर्वाही र विद्यालय व्यवस्थापन समितिको कमजोरीका कारणले बालबालिकाहरु कठ्याङ्ग्रिदो जाडोमा चिसो भुइँमा बसेर अध्ययन गर्न बाध्य भएका स्थानीय अभिभावकहरुको आरोप छ ।
कक्षा कोठाको अभाव तथा बस्नका लागि डेक्सबेञ्च नहुँदा घाम लागेका बेला विद्यार्थीहरुलाई चौरमा राखेर पढाउने गरिएको भए पनि अन्य समयमा पठनपाठन गर्न समस्या भएको आदर्श आधारभूत विद्यालयका प्रधानध्यापक बलबहादुर साउदले गुनासो गर्नु भयो ।
बालबालिकाहरुलाई चिसो भुइँमा राखेर पठनपाठन गर्दा उनीहरुको स्वास्थ्यमा समेत समस्या हुने गरेको र बस्नका लागि गुन्द्री, कारपेट तथा बेञ्चको व्यवस्थापन गर्न वडा कार्यालयमा माग गरिएको भए पनि हालसम्म संवोधन हुन नसकेको प्रधानध्यापक साउदको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मेल्लेख गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्द्रबहादुर साउदले भवन अभावका कारण कक्षा एकदेखि कक्षा तीनसम्म अध्ययनरत बालबालिकाहरुलाई एउटै कोठामा राखेर पठनपाठन गराउनु पर्ने बाध्यता भएको भए पनि प्रदेश सरकारको आर्थिक सहयोगमा तीन कोठे पक्की भवनको निर्माण भइरहेकोले केही महिनापछि पठनपाठन सहज हुने बताउनु भयो ।
चिसो भुइँमा बस्दै आइरहेको बालबालिका लागि कारपेट र गुन्द्री खरिद गर्ने प्रक्रिया अगाडि बढाईसकिएकोले एक दुई दिन भित्रै सो समस्या समाधन हुने वडाध्यक्ष साउदले बताउनु भयो ।








