बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा स्थानीयको झगडा छुटाउन गएका ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानमाथि माघ १४ गते स्थानीयद्वारा ढुङ्गामुढा प्रहार गर्दा दुई जना प्रहरी जवान घाइते भएका छन् ।
उक्त घटनामा प्रहरी जवान २५ वर्षीय महेन्द्र बहादुर शाही र २७ वर्षीय हिमराज खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर धर्मेन्द्र खड्काले जानकारी दिनभयो ।
ढुङ्गामुढा गरेको आरोपमा बाँफिकोट गाउँपालिका–४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल, २२ वर्षीय कैलाश पुरी र बाँफिकोट – ६ का १५ वर्षीय एक बालकलाई प्रहरीले गिरफ्तार गरिएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।
प्रहरीमाथि ढुङ्गामुढा भएको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा प्रहार हुँदा प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि माघ १४ गते जिल्ला अस्पतालमा ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताउनु भयो ।








