अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।
प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पारिन् । यसका लागि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन्।
बागतमी प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ । यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित नेपालका ३ रङ्गशालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकाले खेल विधामा नेपालको ७५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन् । यही गरिमालाई उच्चो पार्न भरतपुरमा दैनिक रूपमा खेल गतिविधिहरू हुने गरेको प्रमुख दाहालको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक वर्षभित्र गौतम बुद्ध क्रिकेट रङ्गशालाका दुई वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुसी व्यक्त गरे । अध्यक्ष चन्दले अलपत्र रहेको रङ्गशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरे ।








