आलिताल गाउँपालिका–७ का २० जना भन्दा बढी श्रमिकहरुले एक वर्ष वितिसक्दा समेत ज्याला पाउन सकेका छैनन् । गत वैशाखमा मसानी मन्दिर, स्वास्थ्य भवन, भाडीखोला टतबन्ध र गौरीशंकर माविको भवन निर्माण गर्दा आफूहरुले पाउनु पर्ने ज्याला रकम एक वर्ष वितिसक्दा समेत निर्माण कम्पनीले नदिएको पीडित अमर धामीले दुखेसो पोख्नु भयो ।
स्वास्थ्य चौकी निर्माणको जिम्मा पाएको डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दीर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको पीडित धामीको भनाइ छ ।
उहाँले भन्नु भयो– ‘निर्माण कम्पनीले पेटी ठेकेदार सुरेन्द्र बोहरालाई जिम्मा दिएको थियो । तर, गत वैशाखमा काम सम्पन्न भएको भए पनि ज्याला पाएका छैनौँ । २० / २२ जना श्रमिकले पेटी ठेकेदारबाट ज्याला पाउन सकेनौँ । ज्याला उपलब्ध गराइ दिन भनेर अहिले प्रहरीका उजुरी दिएका छौँ ।’
आलिताल गाउँपालिका वडा नम्बर ७ स्थित मसानी मन्दिर, स्वास्थ्य भवन, भाडीखोला टतबन्ध र गौरीशंकर माविको भवन निर्माण कार्य सम्पन्न भएको एक वर्ष वितिसक्दा समेत ठेकेदारले ज्याला नदिएपछि ०८० माघ ५ गते आलिताल प्रहरी चौकीमा उजुरी दिएको र उजुरी दिइसकेपश्चात मात्रै ठेकेदारले एक महिना भित्र सबै श्रमिकहरुको ज्याला भुक्तानी गर्ने सहमति गरेको पीडित धामीले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले ०८० माघ ८ गते डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दीर निर्माण योजनालाई पत्र नै पठाएर तत्काल श्रमिकहरुको ज्याला भुक्तानी गर्न र ज्याला भुक्तनी नगरिएको खण्डमा कानुन अनुसार कारबाही गरिने बताउनु भएको छ ।
श्रमिकहरुले ज्याला नपाएको भन्दै गाउँपालिका र प्रहरी चौकीमा उजुरी दिएपछि निर्माण कम्पनीलाई तत्काल समन्वय गरी ज्याला भुक्तानी गर्न पत्र नै पठाएको र ज्याला भुक्तानी नगरे प्रचालित कानुन बमोजिम कारबाही गरिने गाउँपालिकाका अध्यक्ष पार्कीले बताउनु भयो ।










