पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव र चन्द्रागिरी न्यू–डायमण्ड एकेडेमीबीच उपाधि भिडन्त हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी प्रतियोगितामा विहीबार भएको सेमीफाइनल खेलमा एपिएफले नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र न्यू–डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको संस्थाका अध्यष नारायण शर्माले बताए । उहाँका अनुसार उपाधि भिडन्त शनिबार हुने छ । प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा एपिएफले आर्मीलाई ३–२ को सेट अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोश्रो र तेश्रो दुबै संस्करणको उपाधि जितेको एपिएफ लगातार तेश्रो पटक फाइनलमा पुगेको हो । योसँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्ने अवसर पाएको छ ।
सेमीफाइनल खेलमा एपिएफ आर्मीसँग पहिलो दुई सेट हारेर पराजयको नजिक पुगेको थियो । तर खेलमा पुनरागमन गर्दै एपिएफले लगातार तीन सेट जितेर फाइनलमा पुग्ने पहिलो टोली बन्यो । कडा प्रतिष्पर्धात्मक खेलमा एपिएफले आर्मीलाई १९–२५, २०–२५, २५–१३, २५–१६ र १५–१३ ले पराजित ग¥यो । विहीबार नै भएको दोश्रो सेमीफाइनल खेलमा न्यू–डायमण्डले पुलिसलाई सोझो सेटमा पराजित गर्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको छ । पुलिसलाई दवाबमा राखेको न्यू–डायमण्डले २५–१९, २५–१८ र २५–१८ ले पछि पार्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । न्यू–डायमण्ड एकेडेमी पहिलो पटक टाइगर कप भलिबलको फाइनलमा प्रवेश गरेको हो ।
सेमीफाइनलमा पराजित आर्मी र पुलिसले तेश्रो स्थानका लागि शुक्रबार प्रतिष्पर्धा गर्नेछ । पुरुषतर्फ विहीबार बल्ल सेमीफाइनल समीकरण पूरा भएको छ । नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र आयोजक गण्डकी प्रदेशबीचको लिग चरणको अन्तिम खेल सकिएसँगै सेमीफाइनल समीकरण पूरा गरिएको संस्थाका सचिव डिवी नेपाली जानकारी दिए ।
उनका अनुसार खेलमा आर्मीले आयोजक गण्डकीलाई ३–२ सेट अन्तरले पराजित गर्दै बिजयी भएपनि अंक तालिकामा गण्डकी भन्दा पछाडि रहेपछि फाइनलमा पुग्न चुक्यो । दुबै खेलमा पराजित आर्मी सेमीफाइनल प्रवेश गर्नबाट चुक्दा आयोजक गण्डकी एकमा जित र एकमा हारसँगै ३ अंक जोडेर सेमीफाइनलमा पुग्न सफल भएको हो । गण्डकी डिफेन्डिङ च्याम्पियन हो । विहीबारको खेलमा आर्मीले गण्डकीलाई २५–२०, २०–२५, १७–२५, २५–२१ र १५–६ ले जितेको थियो । तर सोझो सेटमा नजित्नु नै आर्मीका लागि दुर्भाग्य भयो ।
यसअघि ग्रुप ए बाट समूह बिजेता बन्दै हेल्प नेपाल स्पोर्टस क्लव तथा ग्रुप बी बाट एपिएफ समूह बिजेता तथा श्रीलंका आर्मी उपबिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत अब सेमीफाइनलमा गु्रप ए को बिजेता हेल्प नेपाल स्पोर्टस क्लवले ग्रुप बी को उपबिजेता श्रीलंका आर्मीसँग तथा ग्रुप बी को बिजेता सशस्त्र प्रहरीको एपिएफ क्लवले ग्रुप ए को उपबिजेता आयोजक गण्डकीको सामना गर्नेछ ।
प्रतियोगिताको महिला तथा पुरुष दुबै तर्फको बिजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दुबै तर्फका टिमले उपविजेता नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने दुबै टिमलाई नगद १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।








