हेमजा, ३ माघ
हेमजा मेलबोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसको प्रशासनिक भवन बुधवार शिलान्यास गरिएको छ ।
गण्डकी प्रदेश सरकारको रु. ५० लाख अनुदान तथा क्याम्पस सहभागिता गरी कुल ५८ लाखको लागतमा त्यहाँ ३ कोठे पक्की भवन निर्माण हुन लागेको हो ।
भवन शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुशीला सिंखडाले व्यवहारिक गुणस्तरीय शिक्षा दिनुपर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रलाई राजनीतिक थलो बनाउन नहुने औँल्याइन् ।उनले प्रदेश सरकारले जारी गर्नेे शिक्षा सम्बन्धी ऐन ड्राफ भइरहेको जानकारी दिर्दै सबैले संघीय सरकारलाई पनि चाँडै शिक्षा ऐन ल्याउन दवाव दिनुपर्ने बताइन् ।
प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले पूर्वाधार विना विद्यार्थी ल्याउन नसकिने उल्लेख गर्दै शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको विश्वास जित्न सक्नुपर्ने बताइन्।
पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले क्याम्पस त्यस क्षेत्रकै महत्वपूर्ण शैक्षिक संस्था रहेको उल्लेख गरे ।उनले पूर्वाधार निर्माणमा चासो दिए जस्तै विद्यार्थी संख्या बढाउन पनि क्याम्पस प्रशासनले अग्रसरता लिनुपर्ने स्पष्ट पारे ।
त्यस अवसरमा सल्लाहकार रामचन्द्र त्रिपाठी, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष महादेव अधिकारी, क्याम्पस संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेल, उपाध्यक्ष रमा त्रिपाठी, क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल लगायतले पनि बोलेका थिए ।








