मकवानपुरगढी गाउँपालिका-१ की १८ वर्षीया फुलमाया लुङ्बामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका-१२, घट्टेपाखास्थित चाइनिज क्याम्पमा कार्यरत ५१ वर्षीय चिनियाँ नागरिक थान काई युनलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेको छ ।
आरोपित थान काई युन विरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीका अनुसार आरोपितले माघ २ गते क्याम्पमा खाना बनाउने क्रममा खाना नमिठो भन्दै कुटपिट गरेका थिए । उक्त कुटपिटबाट पीडित घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य उपचार हेटौँडा उपमहानगरपालिका-१ स्थित अर्थोपेडिक अस्पतालमा भइरहेको छ । उक्त घटनापछि स्थानीय युवाहरूले आरोपितलाई कुटपिट गरेको र आफूहरूले उद्धार गरेको डिएसपी भण्डारीले बताउनु भयो ।








