त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्था रहेको छ ।
उपकुलपति सिफारिस समितिले आजदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसमा आवश्यक न्यूनतम योग्यतामा दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिविको चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेसन वर्क प्लान) सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता वापतको मूल्यांकन र अंकभार १०० पूर्णाकलाई आधार मानेर छनोट गरिनेछ ।
त्रिविमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रकृया अगाडि बढेको छ । त्रिविमा राजनीतिक भागबण्डाको आधारमा उपकुलपति लगायत पदाधिकारी नियुक्ति हुने गरेको भन्दै चर्को आलोचना हुदै आएको छ ।
प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । सोही आधारमा सरकारले शिक्षामन्त्रीको संयोजत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
समितिले यसअघि पहिलोपटक दरखास्त आह्वान गर्दा चर्को विवाद उत्पन्न भएको थियो । त्यो समयमा उपकुलपति हुन विश्वविद्यालयको पदाधिकारीमा तीन वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख थियो ।
त्यसको चर्को विरोध भएपछि कुलपति समेत रहेका प्रधानमन्त्री तत्काल दरखास्त आह्वान फिर्ता लिएर मापदण्ड सच्याएर पुनः विज्ञापन आह्वान गरेको निर्देशन दिएका थिए । सोही आधारमा समितिले आज दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।








