इनरूवा नगरपालिका-९ का १५ वर्षीय बालक सुमितकुमार चौधरीले शिक्षकले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
इनरूवा नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुमितकुमार चौधरीले ५७ वर्षीय शिक्षक तेजनारायण यादवले पुस ५ गते कक्षा कोठामा कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
सप्तरी जिल्ला, तिरहुत गाउँपालिका-३ स्थायी घर भइ इनरूवा नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयका विज्ञान विषयमा शिक्षक एवम् निमित्त प्रधानाध्यापक यादवले विना कारण कुटपिट गरेको पीडितको आरोप छ ।
विद्यालयमा पुस ५ गते पाँचौँ घण्टीमा विज्ञान विषय पढाउन सर आएको र आफूले विज्ञान विषय विहान नै पढाउनु भयो सर, अहिले अरू नै विषयको घण्टी हो भन्दा आफूलाई घाँटीमा न्याकेको पीडित विद्यार्थीको आरोप छ ।
कक्षा कोठामा कुटपिट गरी अफिसमा लगेर हप्काएको र विद्यालयका कार्यालय सहायक रमेश चौधरीले यसको म, छाला काढ्छु भनेर धम्की दिएको सुमितकुमारले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।पीडित बालककी आमा सन्तकुमार चौधरीले कुटपिटबाट छोराको कान सुन्निएको र टाउकोमा चोट लागेको बताउनु भयो ।
विद्यार्थी कुटपिटको विषय शिक्षक तेजनारायण चौधरीले पाँचौँ घण्टीको सर नआएको र कक्षा खाली हुने भएपछि आफूले पुन विज्ञान विषयको क्लास लिन खोज्दा सुमितकुमारले क्लास लिन अवरोध गरेको बताउनु भएको छ ।
कुटपिटबाट कान र टाउकोमा चोट लागेका बालकको स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।पीडित पक्षले आरोपित शिक्षकविरूद्ध प्रहरीमा उजुरी दिने भएको छ ।








