जिल्ला कारागार, दार्चुलाको जीर्ण भवनमा बस्दै आएका कैदीबन्दीलाई न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दीहरु समस्यामा परेका छन् । यो वर्ष चाडै चिसो बढेको भए पनि न्यानो कपडाहरु समय वितरण नगरिएका कारण कैदीबन्दी समस्यामा परेका हुन् ।
कैदीबन्दीलाई जिल्ला कारागार, दार्चुलाले कम्मल र डस्ना वितरण गरेको भए पनि न्यानो लुगा वितरण गरेको छैन् । ‘यो वर्ष चिसो कात्तिक महिनामै बढेको छ,’ जिल्ला कारागार, दार्चुलाका कैदी डम्मरबहादुर पालले भन्नु भयो, ‘जस्तापाताभित्र बस्नुपर्दा निकै चिसो छ ।’
कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी बस्दै आएका छन् । कारागार भित्र दुई जना ज्येष्ठ पुरुष कैदी छन् । दिउँसो घाम तापेर न्यानो हुने गरेको छ । कैदीबन्दीको लागि तिहारलगत्तै न्यानो लुगा दिने तयारी भएको जिल्ला कारागार, दार्चुलाका सूचना अधिकारी विनु चौधरीले बताउनु भयो ।
आज मात्रै जिल्ला कारागार, दार्चुलामा कार्यालय प्रमुख उपस्थित हुनु भयो, उहाँले भन्नु भयो, तिहारपछि कैदीबन्दीहरुले पाउने न्यानो लुगा पाउनु हुन्छ । २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागार, दार्चुलामा हाल ४५ जना पुरुष कैदी, ११ जना थुनुवा र एक जना महिला कैदी गरी ५६ जना रहेका छन् ।
जिल्ला कारागार, दार्चुलामा सबै भन्दा बढि जबरजस्तीकरणीका १४ जना कैदी तथा दुई जना थुनुवा छन् । यसैगरी कर्तव्य ज्यानका १० जना कैदी, ज्यान कसूरका तीन, बालविवाह र बहुविवाहका तीन कैदी, यौन दुव्र्यवहारका एक जना कैदी रहेको जिल्ला कारागार दार्चुलाका सूचना अधिकारी चौधरीले बताउनु भयो ।








