फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो । निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए ।
उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूल खेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उनको भनाइ छ । छिमेकी जिल्लाबाट समेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उनको भनाइ छ । साथै भारतबाट समेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्प विकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उनले बताए ।
सङ्घका सचिव सुलभ श्रेष्ठले गत वर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूल खेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिए । व्यावसायिक रूपमा खेती गर्ने किसान आठ जना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उनको भनाइ छ । प्लास्टिकजन्य फूल मालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उनले जानकारी दिए ।








