कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा ०८० कात्तिक १५ गते प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम घाइते हुनुभएको छ । दाहिने तिघ्रामा गोली लागेर घाइते हुनुभएका करिमको उपचारका लागि तिनकुनेस्थित कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार लागुऔषध कारोबारको सूचना पाएपछि प्रहरीले गिरफ्तार गर्न लाग्दा प्रहरीमाथि नै आक्रमण गरेर फरार हुन खोजेपछि प्रहरीले करिमलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो । प्रहरीले घटनास्थलबाट झापाको कचनकवल गाउँपालिका-८ का ३७ वर्षीय हर्क लिम्बुलाई समेत गिरफ्तार गरेको छ ।
प्रहरीले करिमको साथबाट एक थान पेस्तोल, २ सय ग्राम खैरो हेरोइन र तराजु समेत बरामद गरेको एसएसपी खत्रीले इन्सेकलाई जानकारी दिनुभयो । गिरफ्तारीमा परेका लिम्बुलाई प्रहरी वृत्त, नयाँबानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको एसएसपी खत्रीले बताउनु भयो ।








