रामेछाप मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत असार ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि स्वास्थ्य संस्थामा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठलाई बर्खास्त गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।
स्वास्थ्य चौकीमा हाजिर नभएको अहेब श्रेष्ठलाई मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य केन्द्रमा खटाएको थियो । अहेब श्रेष्ठ नब्बे दिनभन्दा बढी अनुपस्थित भएपछि भदौ १३ गते स्पष्टिकरण माग गर्दै नगरपालिकाले पत्र काटेको थियो ।
कार्यालयले उनलाई सो-बारे पत्र काटेर पठाए पनि कुनै जवाफ नआएपछि अहेब श्रेष्ठलाई जागिरबाट बर्खास्त गरिएको मन्थली नगरपालिकाले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।








