रवीन्द्र माकाजू
पोखरा बागलुङ बसपार्क निवासी भीमबहादुर साईलाई धेरैले श्रद्धापूर्वक कान्छा ठेक्दारका नामलेसम्बोधन गर्ने गर्दछन् । वि.सं. २००२ सालमा जन्मेका कान्छा ठेकदारको जीवन यात्रा हेर्दा सुरुमा दिनगन्तीका रूपमा ज्यालादारी काम गरे ।
मुस्किलले दिनमा ४ रूपैयाँ कमाउँथे भीमबहादुरले । त्यो पनि हिउँदमा, वर्षामा हात बाधेर बस्नु पर्दथ्यो । त्यस बेला पोखरामा एक दुई घर बन्थे त्यो पनि ढुङ्गा र माटोको ।
कान्छा ठेकदार अर्थात् भीमबहादुरले ती पुराना दिन कोट्याउँदै भने पोखरामा यातायातको सुविधा थिएन । प्लेनबाट सिमेन्ट ल्याउनु पर्दथ्यो । प्रायः घरहरू खरले छाएको हुन्थ्यो । सिद्धार्थ राजमार्ग खुलेपछि मात्र पोखराले शहरको रूप लिएको हो ।
भीमबहादुर सानैदेखि लगनशील र इमानदार थिए । पोखराको नेशनल हाईस्कुलमा कक्षा ५ सम्म पढ्न भ्याएका भीम बहादुरलाई साथीभाइ, साहु सबैले मन पराउँथे । उनको मिठो बोली वचन र आत्मीय व्यवहारका कारण ज्यामीहरुका नाइके बने । उनले कामदारहरूलाई फकाई फकाई काम लिन्थे र घर सम्पन्न गर्दथे । यसले गर्दा उनको हौसला र उमङ्ग बढ्यो । विस्तारै पोखरामा सिमेन्टको ढलान घर बनाउने लहर चल्यो । उनी सम्झन्छन्– पोखराको सबैभन्दा पुरानो सिमेन्टेड घर बागलुङे वैद्यको महेन्द्रपुल चोकको घर हो । ढलान गर्न काठका सामानहरु आवश्यक पर्दथ्यो र ज्यामीहरुको ठूलो जमात खाँचो पर्ने हुँदा ठेक्दारी प्रथाको विकास भयो ।
भीमबहादुरले सुरु सुरुमा ४।५ लाखका घरहरू सजिलै बनाइदिन्थे । प्रायः जनमानसमा भीमबहादुरले बनाएको राम्ररी बनाएको पक्की घर हो भन्ने आमविश्वास हुन्थ्यो । अहिले त महङ्गीका कारण लेबर कन्ट्याक्ट मात्रै गरी एक साढे एक करोड ज्यालामा मात्र खर्च हुने चलन चलेको छ । जे होस् भीमबहादुरले बनाएको घरमा कुनै विवाद हुँदैन । उनले धेरै घर बनाएका छन् । तर उनलाई कुनै घर बनाउँदा पनि घाटा भएको छैन । उनी भन्दछन्– मलाई धेरैले चिन्दछन्, विश्वास गर्दछन् । मलाई पनि यसैमा सन्तोष छ ।
भीम बहादुरले भने मैले पनि सुरुमा मजदुरलाई ५ रूपैयाँ ज्याला दिएको छु । अहिले समय बदलिएको छ । ज्यामी मिस्त्रीले दिनमा १५०० पाउँछन् भने लेवरलाई रु. ८०० दिनुपर्दछ ।
उनले थपे– अहिले ठेक्दार धेरै छन् । आपसमा प्रतिष्पर्धा गर्ने गर्दछन् । तर म कसैसँग प्रतिष्पर्धा गर्न जान्न । जिने जानेकाले मलाई नै खोज्दै आउँछन् । म खाली वस्नु पनि पर्दैन ।
भीमबहादुरले निर्माण व्यवसायी समितिको अध्यक्ष भएर पनि सेवा गरेका छन् । उनले आफ्नो कार्यकालमा ठेकदार र घरधनी बिच भएका असमानजस्यता र विवादलाई सहज ढङ्गले मिलाउने गरे । अहिले उनी समितिका सल्लाहकार छन् । समितिले चाउथेमा आफ्नै भवन बनाउँदै छ । कान्छा ठेकदार पनि यो भवन बनाउन दिलो ज्यान दिएर लागिपरेका छन् । आफूले पनि दिल खोलेर सहयोग गरेका छन् र अरूबाट पनि सहयोग रकम जुटाउँदैछन् ।
सामाजिक सेवामा पनि रुचि राख्ने कान्छा ठेकदार नेपाल खड्गी सेवा समितिका संस्थापक कोषाध्यक्ष पनि हुन् । उनले समितिको नेतृत्व गर्ने पनि अवसर पाए । उनको कार्यकालमा समाजघर पनि बनेको छ पोखराको सिमपानीमा । उनी पोखराको कन्या स्कुल सञ्चालक समितिका सदस्य पनि थिए भने भैरव सांस्कृतिक संरक्षण समिति, नेवा खलः कास्कीका सल्लाहकार पनि हुन् । ७९ वर्षको हुँदा पनि उनी निरोगी छन् । अनुहार उज्यालो छ । मान्छे रसिला छन् । हृष्टपुष्ट छन् । औषधीको सेवन गर्दैनन् । हालै पोखरामा प्रदर्शन गरिएको बाघजात्रामा उनी प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गरेर उत्रेका थिए ।
वि.सं. २०२२ सालमा गुहेश्वरीसँग वैवाहिक सम्बन्ध गाँसेका कान्छा ठेकदारमा ४ सुपुत्र र एक सुपुत्री छन् । उनले पोखरामा थुप्रै घरघरका अलवा शैक्षिक केन्द्र घर निर्माण गरेका छन् । उनले अमृतप्रसाद शेरचन सँग मिल्ने पृथ्वीनारायण क्याम्पसको विज्ञान भवन पनि बनाए । उनले सामाजिक सेवाको योगदान स्वरूप निर्माण व्यवसायी समिति, नेपाल खड्गी सेवा समिति लगायत थुप्रै सङ्घ संस्थाले उनलाई सम्मानपत्र, कदरपत्र पनि दिएका छन् । उनले अस्ट्रेलिया, भारत आदि मुलुकको पनि भ्रमण गरेका छन् ।








