भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि कक्षा आठ सम्मका लागि नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ ।
भानु नगर शिक्षा समितिबाट स्वीकृत उक्त पाठ्यपुस्तक ०८० असोज १४ गते एक कार्यक्रम मार्फत भानु नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, नगर प्रवक्ता तथा सामाजिक विकास समितिका सदस्य ईश्वरबहादुर घिमिरे र नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले संयुक्तरूपमा विमोचन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

पाठ्यपुस्तक लेखनको जिम्मेवारी पाएको वन्यजन्तु संरक्षण संघ नेपालको प्राविधिक सहयोग तथा भानुका पेशागत संगठनका प्रतिनिधिहरू, प्रधानाध्यापकहरू तथा शिक्षकहरूको पटक–पटक भएको परामर्श बैठकबाट विभिन्न रचनात्मक सुझावहरू प्राप्त भएको नगर शिक्षा अधिकारी पौडेलले बताउनु भयो । प्राविधिक सहयोग गर्ने संस्था, शिक्षा युवा तथा खेलकुद शाखा तथा भानुका जनप्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूबाट प्राप्त सुझाव एवं पृष्ठपोषणलाई समावेश गरी विषयवस्तुलाई अन्तिम रूप दिइएको पौडेलले बताउनु भयो ।
स्थानीय पाठ्यपुस्तक हाल कक्षा एक देखि पाँच का लागि वितरण गरिएको छ । बाँकी कक्षा ६ देखि आठ को पाठ्य सामग्री एक महिना भित्र तयार गर्ने जानकारी निर्माण पक्षले दिएको छ । पाठ्यपुस्तक वितरण गर्दा विद्यालयले भरेको शैक्षिक सत्र २०८० को विद्यार्थी संख्यालाई आधार मानी प्रत्येक कक्षाका लागि एक–एक प्रति थप गरिएको छ । भानुका सामुदायिक विद्यालयले यो पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्नेछन् भने संस्थागत विद्यालयहरूले इलेक्ट्रोनिक कपि प्राप्त गर्नेछन् र आफ्नो अनुकूलतामा यसको गुणस्तर कमजोर नहुने गरी छपाई प्रयोग गर्न सक्ने पौडेलले जानकारी दिनु भयो ।
उक्त पाठ्यपुस्तक हाल परीक्षणका रूपमा लागु गरिएको र शैक्षिक सत्र २०८० को अन्तमा ‘हाम्रो भानु’ अध्यापन गर्ने विषयगत शिक्षकहरूलाई आमन्त्रण गरि समीक्षा बैठक गर्ने तथा त्यसमा प्राप्त सुझावका आधारमा आगामी अंकमा परिमार्जित रूपमा प्रकाशन गरिने पौडेलले बताउनु भयो । यसका लागि उक्त पाठ्यपुस्तकको राम्रोसँग अध्ययन गरि यसमा भएका राम्रा र सकारात्मक पक्षहरू तथा सुधार गर्नुपर्ने पक्षहरूका बारेमा रचनात्मक सुझाव दिन पनि पौडेलले सबै शिक्षक वर्ग र सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गर्नु भएको छ ।







