नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ। यो फिर्तासँगै अब पुरानै मूल्य अर्थात् २९ भदौ रातिबाट लागू भएअनुसारको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री-वितरण हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा मन्त्रिपरिषद् बैठकबाटै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइएको थियो। त्यसलगत्तै आयल निगम व्यवस्थापनले एक सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो। मूल्यवृद्धि फिर्ता लिएपछि हुने घाटा रकम मूल्यस्थिरीकण कोषबाट भर्पाई हुने निगमले जनाएको छ।
अब बजारमा सोमबार बिहानदेखि पेट्रोल एक सय ८३, डिजेल र मट्टितेल एक सय ७३ तथा आन्तरिक हवाई इन्धन र एक सय ३६ रुपैयाँ प्रतिलिटरमा नै किनबेच हुनेछ। त्यस्तै, बाह्य हवाई इन्धन १.०३६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपैयाँ प्रतिसिलिन्डरमा नै कारोबार हुनेछ।









