रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार सरकारले प्रतिनिधिसभामा पेश गरेको शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै सामुदायिक विद्यालय का शिक्षकहरू आन्दोलनमा उत्रिएपछि असोज ४ गते सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएको छ ।
विभिन्न माग राखी शिक्षकहरू काठमाडौँ केन्द्रित सडक आन्दोलनमा भाग लिन गएपछि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । सामुदायिक विद्यालयका सबै शिक्षक आन्दोलनमा भाग लिन असोज ३ गते नै काठमाडौँ गएका हुन् । विद्यालय गएका विद्यार्थीहरू विद्यालय बन्द भएपछि त्यतिकै घर फर्किएका छन् । ‘विद्यालय समयमा विद्यालय गयौँ, विद्यालयको गेट नै बन्द रहेछ, त्यसैले घर फर्कियौँ’, मन्थली मावि मन्थलीकी छात्रा वर्षा श्रेष्ठले भन्नुभयो ।
शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनको लागि काठमाडौँ गएपछि विद्यालय कहिले खुल्ने हुन् भन्ने अनिश्चितता पैदा भएको छ । ‘सरहरू कोही हुनुहुन्न, स्कुल कहिलेबाट खुल्छ थाहा छैन’, उहाँले भन्नुभयो ।
रामेछाप जिल्लामा ९० ओटा माध्यमिक तहका सामुदायिक विद्यालय छन् भने २ सय ८६ ओटा आधारभूत विद्यालय छन् । जिल्लामा ४३ हजार बढी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।







