समानुपातिकबाट सांसद बनेका डा ढाकाराम श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई कराेड रुपैयाँ रकम मागेकाे अडियाे सार्वजनिक भएको थियो । सोही अडिओका कारण उनलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो ।
श्रेष्ठले आफू मन्त्री बन्ने भन्दै ‘कोर टीम’ का लागि दुई करोड चाहिएको बारेमा प्रसाईँसँग कुराकानी गरेको अडिओ संवादमा खुलेको थियो । सोही ‘कोर टीम’का सदस्यमध्येकै एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ ।
एक टेलीभिजन सँगको संवादमा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोड रुपैयाँमा डिल भएको खुलाएका छन् ।
दुर्गा प्रसाईँसँगको अडिओ प्रकरणबारे उनले भनेका छन्, ‘अझै पनि त्यो अडिओको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिङ गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडिओलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि ।’
प्रसाईँसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईँले नै नियोजितरूपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ ।
‘एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ । तर, उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई ह्वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो । मन्त्री बन्दै हुनुहुँदो रहेछ, तपाईंलाई मैले सहयोग गर्नुपर्यो के भन्नुहोस्,’ श्रेष्ठले भने ।
उनका अनुसार प्रसाईं आफैँले सहयोगको कुरा अगाडि बढाएका हुन् । मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापालगायतको टीमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी दुर्गा प्रसाईँसँग कुरा भएको उनको प्रष्टोक्ति छ ।








