“आशा जागाउ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ जलेश्वरमा भदौ २४ गते विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, रतौली युवा क्लव, टिपिओ नेपाल, महिला सचेतना केन्द्र, महिला सचेतना समूह र महिला मानव अधिकार रक्षक संजालको समन्वय तथा सहकार्यमा विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग जलेश्वरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो दिवस सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा महेन्द्र आदर्श माध्यमिक विद्यालय जलेश्वर, लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय जलेश्वर, सुकदेव माध्यमिक विद्यालय सुगा, जानकी परक्षण माध्यमिक विद्यालय प्रकौली र सरस्वती माध्यमिक विद्यालय मलिवाराका करिव ८० जना विद्यार्थी तथा शिक्षकहरू सहभागि थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, महोत्तरीका प्रमुख सुमन लाल कर्णले समाजमा आत्महत्याको घटना बढ्नुमा गरिवी, अशिक्षा र वेरोजगारी रहेको बताउनु भयो । आत्महत्याका घटना न्युनिकरणको लागि स्थानीय सरकारले ठोस नीति तथा कार्यक्रमहरू ल्याउन जरुरी रहेको उहाँले बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानले पारिवारिक तथा घरेलु हिंसा, आर्थिक समस्या, समाजमा व्याप्त हानिकारक प्रथा तथा सामाजिक हिंसा र दुर्व्यसनी लगायतका कारण आत्महत्याको घटना बढेर गएको बताउनु भयो ।
मानसिक स्वास्थ्यमा समस्या आएपछि कुनै पनि व्यक्तिले आत्महत्या प्रयास गर्ने गरेको हुँदा सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य उपचारका लागि सम्बन्धित डाक्टरहरू तथा स्थानीय तहका स्वास्थ्य चौकीमा समेत मनोविमर्शकर्ताको व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

स्वास्थय कार्यालय महोत्तरीका प्रमुख सुनिता गुप्ताले आत्महत्याको घटना जिल्लामा बढेको तथ्याङ्कले देखाएकोले यसको न्यूनिकरणका लागि हामी सबैको भूमिका आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मराज मुडमरीले महोत्तरी जिल्लामा पछिल्लो तीन आर्थिक वर्षमा ३ सय ५४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष ७७/७८ मा ७९, आर्थिक वर्ष ७८/७९ मा १ सय ४० र आर्थिक वर्ष ७९/८० मा १ सय ३५ जनाले विभिन्न कारणले आत्महत्या गरेका छन् ।

१६ वर्षदेखि ३० वर्षका युवाहरू यस्ता घटना दोहराउँदै आएकोले अभिभावकले यसतर्फ ध्यान दिए बालबालिकाको भविष्य सकारात्मक कदमतर्फ अगाडि बढ्नेमा उहाँको भनाई थियो । यसैबिच कार्यक्रमको दोस्रो चरण अन्तर्गत जलेश्वर स्थित दुर्गा चोकमा मैनवत्ति प्रज्वलन गरेर आत्महत्या गरि मृत्यु वरण गरेकाहरु प्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।
इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाम








