समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ । कोशी प्रदेशको विराटनगरमा भोलि साेमबार सभा गर्ने कार्यक्रम तय गरेको छ ।
यो मोर्चाले आयोजना गर्ने पाँचौ सन्देशसभा पनि हो । सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ ।
चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे तल्लो तहसम्म जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार मोर्चाले यसअघि मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा आयोजना गरिसकेको छ।







