साँफेबगरमा निर्माधिन चिस्यानगृहको काम डेढ वर्षमा सम्पन्न हुनु पर्नेमा पाँच वर्ष भइसक्दा समेत सम्पन्न हुन नसकेपछि त्यस क्षेत्रका कृषकहरुले समस्या झेल्नु परेको छ ।
चिस्यानगृहको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूललगायतका कृषिजन्यबस्तुहरु भण्डारण गर्न नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय कृषक पुष्पराज सुवेदीले गुनासो गर्नु भयो । मौसम अनुसार उत्पादन गरेका कृषिजन्य बस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यानगृहको अभावमा तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको उहाँले बताउनु भयो ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष तथा स्थानीय कृषक रेवन्ति बोहराले किसानले उत्पादन गरेका कृषिजन्यबस्तुहरुको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप सितभण्डार केन्द्र निर्माण कार्य सुरु भए पनि सम्पन्न नभएपछि आफूहरुले उत्पादन गरेको तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताउनु भयो । चिस्यान केन्द्र समयमै सञ्चालनमा नआउँदा यहाँका उपभोक्ताहरुले अन्य जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूल चर्को मुल्यमा किन्नु पर्ने र किसानहरुले उत्पादन गरेको तरकारी सस्तो मुल्यमा बेच्नु पर्ने बाध्यता रहको स्थानीय किसान बोहराले बताउनु भयो । ‘तीन महिना अघि प्रति किलो १५ / २० रुपियाँमा विक्री भएको टमाटर अहिले प्रति किलोे २ सयदेखि २ सय ५० रुपियाँसम्ममा स्थानीयहरु किन्न बाध्य भएका छन् । चिस्यानगृहमा स्टक भएको भए अहिले उपभोक्ताहरुले सस्तो मूल्यमा खरिद गर्न सक्ने अवस्था हुन्थ्यो,’ उहाँले भन्नु भयो ।
३ करोड ४९ लाख लागतमा १० टन भण्डार क्षमताको चिस्यान केन्द्र निर्माण कार्यको जिम्मा २०७५ चैत १३ गते केशव शाह / स्वाँर जे.भी. धनगढी कैलालीले पाएको भए पनि सम्झौतामा विद्युत उपकरण ट्रान्सफर्मर खरिद गर्ने सम्बन्धमा कुनै उल्लेख नभएकाले शितभण्डार सञ्चालनमा कठिनाई भएको र निर्माणाधिन चिस्यानगृह साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको नयाँ शहर आयोजना साँफेबगरले जनाएको छ । साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर चाँडै विद्युत उपकरण ट्रान्सफर्मर जडान गरिने बताउनु भयो । नगर क्षेत्रका कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूल भण्डारणमा सहजता ल्याउने उद्धेश्यले नगरपालिकाको स्वामित्वमा रहने गरी चिस्यानगृह सञ्चालनमा ल्याइने उहाँले बताउनु भयो ।
संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुने छ भन्ने व्यवस्था गरिएको भए पनि जिल्लामा निर्माणाधिन चिस्यानगृह समेत सञ्चालनमा नल्याउँदा स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको छ ।







