सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको साउन ११ गतेको संयुक्त इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापालाई पदमुक्त हुन आदेश दिएको छ ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा ०८० असार २१ गते दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गर्नु भएको थियो । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो । संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न कार्कीले परमादेश माग गर्नु भएको थियो ।
सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने आदेश दिएको छ । सभामुखको त्यस प्रकारको अधिकार नरहेको भन्दै सर्वोच्चले सभामुखको समर्थन संविधानसम्मत नभएको उल्लेख गरी मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको छ ।








