२६ वर्षीय पुरुष लगायत अन्य पीडितलाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कास्कीकाे पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौँ-८ गुह्रेश्वरी पञ्चकन्या मार्ग बस्ने ३४ वर्षीय कमल तामाङलाई प्रहरीले साेमबार गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले लोभ लालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने आश्वासन देखाएर खाडी मुलुक लगायत अन्य देशमा लगेर अलपत्र पार्ने, वन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता कार्य गरेको भन्दै पीडित पक्षले साउन ४ गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएको थियो ।
आरोपितले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, साउदी अरब, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरूमा पुर्याई अलपत्र पारी थप रकम माग गर्ने गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार तामाङले पीडितहरूबाट २ करोड २६ लाख २३ हजार रुपियाँ ठगी गरेका थिए ।
आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको एसएसपी श्रेष्ठले जानकारी दिनुभयो ।







