नाटक ‘करेसा कन्सर्ट’ आगामी साउन ६ गते शनिबार पोखरामा मञ्चन गरिइने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो ।
नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको नाटकमा करेसावारीमा हुने फर्सी, प्याज, गोलभेडा, लगायतको विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । नाटकमा कलाकारहरु रमेशबाबु तिमल्सिना, अञ्जु दाहाल, रोशनी रामदाम, दिपसना विश्वकर्मा, अनुसा परियार र रञ्जु दाहाल रहेका छन् । त्यसैगरी समीर पुन, नम्रता ढकाल, पूर्णिमा अर्याल, सोनिया कार्की खत्री, रायन गुरुङ, रोहित पौडेल र धनकाजी श्रेष्ठ रहेका छन् । केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको निर्देशनमा तयार भएको हो । नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए । निर्देशक दाहालले नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण बन्ने बताए ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भएपनि अभिभावक, शिक्षक र आम नाटकप्रेमीको लागि समेत उत्तिकै महत्वपूर्ण रहेकोले पब्लिक सो को रुपमा मञ्चन गर्न लागिएको जानकारी दिए ।








