१६ वर्षीय बालकलाई चोरी आरोप स्वीकार गर्न दबाब दिएर हिरासत कक्षमा प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । सुनसरीकाे हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका ती बालकलाइ चोरी आरोप स्वीकार गर्न दबाब दिएर कुटपिट गरिएकाे बताइएकाे छ ।
मोटरसाइकलको पार्टपूर्जा चोरी गरेको आरोपमा प्रहरीले बालकलाई असार २५ गते गिरफ्तार गरेको र सोही दिन हिरासत कक्षमा चोरी आरोप स्वीकार गर्न दबाब दिएर यातना दिएको पीडित पक्षको आरोप छ ।
प्रहरीको कुटपिटबाट छोराको शरीरमा निलडाम र चोट देखिएको बालककी ३९ वर्षीय आमाले बताउनु भयो ।
चोरी आरोप पुष्टि हुन नसकेपछि बालकलाई असार २५ गते नै छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
घटनाको विरोधमा पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालय घेराउ र पूर्वपश्चिम लोकमार्गको इनरूवा सडक खण्ड अवरूद्ध पारेपछि प्रहरीले कुटपिट घटनाको छानविन गर्ने भएको छ ।
डिएसपी राजकुमार राईले हिरासतमा कुटपिट भएको विषयमा छानविन गर्ने भएपछि पीडित पक्षले आन्दोलन रोकेको छ ।
पत्रकार लुकमान अञ्सारीले प्रहरीले हिरासतमा यातना दिएपछि पीडित पक्षले प्रहरीविरूद्ध नारावाजी गरेको बताउनु भयो ।
अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा बालक भाग्ने क्रममा लडेर घाइते भएको प्रहरीको भनाइ छ ।
यातनाबाट घाइते भएका बालकको असार २५ गते इनरूवामा रहेको एक क्लिनिकमा उपचार गरिएको छ ।








