पोखराको फेवाफाँटको जग्गालाई आवास र खेतीयोग्यमा वर्गीकरण गरिँदा प्लटिङका कारण खेत रोप्न नपाएको गुनसोसहित स्थानीय विरोधमा उत्रिएका हुन् ।संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेका स्थानीयहरुले एकैठाउँको जग्गालाई आवास र सँगै जोडिएकालाई खेतीयोग्यमा वर्गीकरण गरिँदा आवासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले र सँगैको खेतीयोग्य जग्गा पुरिएको उनीहरुले बताए ।
विरोधमा उत्रिएका देवीलाल लामिछानेले फेवाको चराकिल्लाभित्रको जग्गा भनेर कुनै व्यक्तिलाई केही गर्नै नदिने र कसैले प्लटिङ गर्न पाउने अवस्था अन्त्यको माग गरे । धर्नामा सहभागी कुलप्रसाद तिमिल्सिनाले महानगरले आवासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको वताए । फेवाफांटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आवास र कसैको कृषिमा पारेकै कारण आफूहरुको जग्गा होंचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ ।
त्यसो त आफ्नो जग्गालाई कृषि प्रयोजनको लागी माटोले पुरेर प्लटिङकै बराबर बनाइ खेती गर्न पाउनुपर्ने स्थानीयको माग छ । धर्ना कार्यक्रममा पुगेका युवा व्यवसायी युवराज खतिवडाले स्थानीयहरुको माग अनुसार नै महानगरले कृषि भनेर तोकेको क्षेत्रमा नै माटोले पुरेको जिकिर गरे । स्थानीयको आग्रहमा काम गर्दा पनि आफूलाई दुःख दिइएको बताउँदै उनले भने,‘बाटोमा हिँडिरहेको मेरो सवारीलाई महानगरले नियन्त्रणमा लिएर अनाहकमा स्टन्टबाजी गरिरहेको छ ।’








