नेकपा एमालेले मिसन ग्रासरुट अभियानको उदेश्यभित्र पनि नीतिलाई प्रधान मानेर अभिमुखीकरण गरिएको उनले बताए । यस्तै उनले संख्याभन्दा ठूलो बिचार भएको बताए । ‘नेता प्रधान होइन, नीति प्रधान हो’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधी हाम्रा वर्ग दुस्मन हुन् ।’
यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताए । ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो’, उनले भने, ‘हाम्रोविरुद्ध पूँजीवादी मिडियाले गलत बिम्ब खडा गरेका छन् । यो बिम्ब तोड्न सबै लाग्नुपर्छ ।’
एमाले र एमाले नेतृत्वको विरुद्धमा गलत बिम्ब बनाउने काम भएको भन्दै त्यो बिम्ब तोड्न पार्टीपंक्तिले भूमिका खेल्नुपर्ने धारणा राखे । यस्तै, उनले पार्टीका नेताहरुको आचरण र व्यवहार भने सच्चिनुपर्ने बताए ।
‘पार्टीले नवौं महाधिवेशनपछि र नेकपा हुँदा विचार निर्माणको अवस्था शून्यतामा पुग्यो । हामीले पार्टीलाई नयाँ जीवन दिन बिचार निर्माण गर्ने अभियान थाल्यौं’, उनले भने, ‘पार्टीको राजनितीक कार्यदिशा र कार्यनीति के हो ? नयाँ पुस्तासम्म पु¥याउन सक्नुपर्ने छ ।’
जनताको बहुदलीय जनवाद नै उपयुक्त सिद्धान्त भएको चर्चा गर्दै उनले त्यसैको जगमा मुलुक अघि बढेको उनले बताए । कम्युनिस्ट पार्टी जनताको विचमा रहेको भन्दै पुरानो शैली र व्यवहार छाडेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने गुरूङको भनाइ छ ।
प्रेस चौतारी लुम्बिनीका अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशभित्रका जिल्ला शाखाका पदाधिकारी यो राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन तालिमा सहभागी भएका थिए ।








