लामो समयदेखि तरलता अभावबाट गुज्रिरहेका सहकारी संस्थाहरुमा क्रमशः तरलता वृद्धि हुन थालेको छ । समुदाय र सदस्य केन्द्रीत रहेर वितीय कारोवार गर्दै आएका सहकारी संस्थामा तरलता प्रतिशतमा वृद्धि हुँदै गएको हो ।
सहकारी विभागले मासिक रुपमा प्रत्येक संस्थाले गत महिनाको वितीय विवरण एक साता भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैको आधारमा ठूला संस्थाहरुले सार्वजनिक गरेको वितीय विवरण विश्लेषण गर्दा संस्थाहरुमा तरलता रकम वृद्धि हुँदै गएको पाइएको छ । कतिपय सहकारी संस्थाले समयमा सदस्यको बचत फिर्ता गर्न नसकेपछि सहकारीप्रति सदस्यको विश्वास कम हुँदा सहकारीबाट विभिन्न बहानामा बचत फिर्ताको क्रम बढेको थियो । जसका कारण ठुला र समुदाय केन्द्रीत सहकारीहरुलाई पनि तरलता व्यवस्थापनमा समस्या परेको थियो ।
पछिल्लो समय वितीय अवस्थामा केहि सुधार आएको र सदस्यहरुको विश्वास बढ्न थालेकाले सहकारीमा तरलता बढेको हो । मासिक विवरण प्रकाशित गरेका धेरैजसो सहकारीको तरलता १५ प्रतिशत माथि रहेको छ । संस्थाप्रति सदस्यको विश्वास जागेको र वित्तीय कारोवारमा वृद्धि भएकाले तरलता रकम बढेको सहकारीकर्मीले बताएका छन् ।








