खाना पकाउने ग्यास र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ ।
ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।
प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्छन्, ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारवाही गनेछौं । नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपैयाँ तोकेको छ ।’
सोही मूल्यमा खरिद बिक्री गर्न व्यवसायी र उपभोक्तालाई उनले आग्रह गरेका छन् । ‘ग्यास अभाव हुने आशंका गरेर उपभोक्ताहरूले बढी माग गने गरेको पनि पाइएको छ । यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताहरूलाई पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ,’ काफ्लेले भने, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गर्नुपर्छ ।’
पेट्रोल पम्पहरूले पनि मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएको उनले बताएका छन् । ‘ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ,’ उनले भने ।
ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । ‘माग धेरै भएकोले अभाव देखिएको हो । यसमा उपभोक्ताले सञ्चितिका लागि माग गर्नुभएन भने समस्या देखिँदैन,’ उनले भने ।








