मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । अनुभव वा सीपको प्रयोग गरी आम्दानी बढाउन सकिने छ, आन्तरिक प्रतिभा वा अभिव्यक्तिगत कलाको प्रस्तुति गर्दै मानसम्मानसमेत जुटाउन सकिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके/ताकेका काममा सफल भइने छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । उच्च महत्त्वाकाङ्क्षा कायम राखी अघि बढ्ने प्रयास गर्नुहोस्, जहाँ दृढ इच्छा र सबल मानसिकता हुन्छ, त्यहाँ दैवले पनि सघाउ पुर्याउने गर्दछ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ ।








