नेकपा माओवादीबाट निर्वाचित सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यासको घोषणा गर्दै गोरखाको चुमनुब्री गाउँपालिका ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । उनी जति काम गरे पनि राजनीतिमा कुनै जस नपाएको भन्दै जर्मनी उडेका हुन् ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन,’ उनले भने, ‘त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो ।’निर्वाचित जनप्रतिनिधिले नै देशको राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै पद त्याग गरेर बिदेसिनुमा धेरैले आलोचना गरेका छन् ।यद्यपि उनले आफ्नो अनुपस्थितिमा पनि वडाको सेवा प्रवाहमा कुनै असर नपर्ने दाबी गरेका छन् । लामाले वडा सदस्य ठीले ग्याम्चे लामालाई कार्यवाहक जिम्मेवारी थमाएर औपचारिक पत्र गाउँपालिकामा पठाएका छन् ।‘मैले वडाको पद छाडेकै कारणले गर्दा वडाबाट प्रवाह हुने कुनै पनि सेवा सुविधाहरू प्रवाहित हुने छैन । सबै जनाले कार्यवाहक वडा अध्यक्ष मार्फत सदा झैँ निरन्तर सेवा पाउनु हुनेछ,’ उनले भने । आफू नफर्किँदासम्म कार्यवाहक भएर काम गर्न ठीलेलाई उनले जिम्मेवारी दिएका हुन् ।









