त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा अध्यापन गर्दै आएकी एक प्राध्यापकले विवाहित पुरुषले अन्य महिलासँग लसपस (शारिरिक सम्बन्ध) गरेमा सोझै खसी बनाइदिन (बन्ध्याकरण गर्न) सल्लाह दिएकी छन् । त्यसैगरी विवाहित पुरुष हो भन्ने थाहा हुँदाहुँदै पनि सम्बन्ध गाँसेर बच्चा नै जन्माउनेको जिम्मेवारी स्वयम् आमा बन्नेले लिनुपर्ने उनको अडान छ ।
समाजशास्त्री निर्मला ढकालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विवाहित पुरुष हो भन्ने थाहा हुँदा हुँदै सम्बन्ध गाँसेर बच्चा नै जन्माउने तयारी गरिसकेपछि फेरि कसैको श्रीमती भएर घरमा किन बस्न पर्यो ? आन्विका गिरीले जस्तै प्यार किया तो डरना क्या भन्दै आफैले जिम्मेवारी लिने हो,अरुको घर खोस्न जाने होइन । जहाँसम्म पुरुषको कुरा छ,घरकी स्वास्नीलाई इनर धुन लगाएर बाहिर तान्डव मच्चाउनेलाई सिधै ‘खसी’ पार्दिए हुन्छ ।
सरकारले तयार पारेको बहुविवाहलाई विशेष अवस्थामा कानुनी मान्यता दिने प्रस्तावमाथि व्यापक विरोध चर्किएको सन्दर्भमा ढकालले सामाजिक सञ्जालमा उक्त धारणा राखेकी हुन् । उनीझैँ अन्य महिला अधिकारकर्मी, कानुन व्यवसायी र विभिन्न नागरिक समूहहरूले प्रस्तावलाई पछाडि फर्किने कानुनी कदम भन्दै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।








