दिपक श्रेष्ठ
सुनकाेसी किनारमै छ, सित्खा बजार। रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिकास्थित सित्खाकाे पुरानाे बजारचाहिँ ०८१ असाेज १२ काे बाढीले आधाजसाे बगायाे ।
उधूम गर्मी छ सुनकाेसी गढतिर । बीपी राजमार्ग हुँदै साइटारबाट ओरालाे मूल्काेट झरेपछि सुनकाेसी पुल तरेर गढतिरकाे सित्खा पुगिन्छ । त्यहाँबाट पक्की तर उकालाे घुम्ती बाटाे फनफनी लागेपछि गाेगनपानीकाे भञ्ज्याङ टेकिन्छ । त्यहाँबाट देब्रे बाटाे समातेर पाँच किलाेमिटर अघि बढेपछि प्रसिद्ध शक्तिपीठ खाँडादेवी पुगिन्छ । चिसापानी पुग्नचाहिँ दाहिने बाटाे पक्रिनु पर्छ । कालाेपत्रे हल्का ओरालाे सडक, गाउँघरकाे दृश्य, सल्लाेकाे सुसाइ, चराकाे चिरबिर- वाह ! रमाइलाे यात्रा । नाकेडाँडा हुँदै दाहिने भटाैली खाेला, देब्रे तामाकाेसीकाे दृश्य नियाल्दै भटाैली झरेकाे पत्तै हुन्न । मुगीटारकाे वस्ती अनि फाँट भएर तामाकाेसी गढतिर हुँदै गाईखुरा (मन्थली तर्ने तामाकाेसी पुल) पुग्दा सित्खाबाट २७ किलामिटर दूरी पार गरिन्छ । त्यहाँबाट मन्थली करिव दुई किलोमिटर पर्छ ।

तामाकोसी किनारकाे सुन्दर माझी बस्ती-गाईखुरा । ग्रामीण बजारकाे स्वरूपमा विस्तार हुँदैछ । सन्यासी जातिकाे बस्ती पनि रहेकाे यहाँ अन्य जाति पनि थपिदैछन् । तामाकोसीलाई दाहिने पार्दै त्यहाँबाट अघि बढ्दा (गाईखुरा) करिव पाँच किलाेमिटर कालाेपत्रे सडक गुडेपछि सुन्दर नेवार वस्ती चिसापानी पुगिन्छ । गाईखुराबाट पदयात्रा गर्ने हाे भने, चिटिक्क ढुङ्गा विच्छयाइएकाे पदमार्ग पनि निर्माण गरिएको रहेछ- गाईखुराबाट चिसापानी गाउँ पुग्ने भञ्ज्याङसम्म ।

चिसापानीकाे साैन्दर्य भन्नू नै- पुराना कुवा, पँधेरा । त्यसकै छेउमा चाैतारी । दसैं तिहारमा पिङ थाप्ने चाैर । कमेराेले पाेतेका चिटिक्क परेका घर । घर आँगनमा पातला ढुङ्गा राखिएका पेटी पर्खाल । घरदेखि कुवा-पँधेरा, घरदेखि घर, घरदेखि वन र विद्यालयसम्म पुग्ने सफा गाेरेटाे । त्यहि गाेरेटाेमा बिछ्याइएकाे ढुङ्गा । क्या साैन्दर्य छ- गाेरेटाेकाे । त्याे गाेरेटाे पछ्याउँदा उकालाे बाटाे पनि कति सजिलाे लाग्ने क्या !
घरमा दलान अनि फलैँचा । दलानमा ओखली र जाँताे । हरेक घरमा बार्दली अनि गमला । बार्दलीमा बिँडा झुण्डाएर राखिएका फर्सी । क्या वास्तुकला छ, गाउँको । याे दशद देखेर एउटा कलाकारले कति रंग पाेत्दाे हाे, क्यानभासमा । यस्तै साेच्छु- मनभरि ।

चिसापानीमा बस्नका लागि घरबास रहेछ । घुम्नका लागि चिसापानी गढी र भिमसेनडाँडाका सम्पदा रहेछन् । ठूलाे पँधेरा छेउ सङ्ग्रहालय पनि रहेछ । छेउमै बालबालिकाका लागि खेल्ने पिङ र खेलाैना । कमल ढकमक्क फूल्ने सानाे पाेखरी । त्यसकै डिलमा बर्षाैदेखि सेताम्य फूलिरहेकाे छ- चूवाकाे बाेट । कालाेपत्रे सडककाे छेउमा लहरै फूलका बिरूवा । बिरूवालाई लगाइएका बाँसका बेरा । कम्ति मिहनतले कहाँ हुन्छ र ? गाउँ र गाउँलेको इच्छाशक्तिविना कहाँ सम्भव छ र ? अगुवाकाे दरिलाे याेजनाविना कहाँ याे साैन्दर्य फर्कियाे हाेला र ?

चिसापानी गढी पुग्ने हाे भने ठूलाे पँधेराबाट करिव दुई किलाेमिटर उकालाे उकालाे कालाेपत्रे सडक लागेपछि थप एक किलाेमिटर कच्ची बाटाे भएर जानै पर्छ । गाईखुराबाट करिव सात किलोमिटर हाेला । नजिकै छ वनभाेज खानका लागि भत्यारेडाँडा । शिकारीथान पनि भनिन्छ, यसलाई । भत्यारे नजिकैबाट आधा किलाेमिटरजस्ताे सिँढी चढेर पनि चिसापानी गढी पुग्न सकिन्छ । तामाकाेसी र किनारका फाँट, बस्ती, मन्थली नियाल्दै गढी चढ्न खुवै रमाइलाे हुनेरहेछ ।
बीस बर्षपछि चिसापानी टेक्दा उहिल्यै उहिल्यै बाल्य-किशाेरकालमा चिसापानी टेकेकाे स्वाद बेस्सरी बल्झियाे । भिमसेनथान लाग्ने चाैतारीमा सितल ताप्दै फेरि एकपटक हेरिरहें- चिसापानी गाउँ ।
लेखक आदरणीय सर दिपक श्रेष्ठ बाट साभार








