असार १५ अर्थात राष्ट्रिय धान रोपाई महोत्सव एवं दहि चिउरा खेर मनाउने भएको छ । असारलाई नेपालीहरुले ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रुपमा लिने गर्दछन् । धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन रहेको छ । वि.स २०६१ सालदेखि नेपालले असार १५ लाई राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवसको रुपमा मनाउन थालेको हो ।
उक्त दिन किसानहरु मात्रै होइन, कहिल्यै हिलोमा नजानेहरु पनि असारे भाकासंगै एकआपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन मनोरञ्जन गर्छन् । पहिले पहिले असारे भाकामा बाजा बजाएर नाचगान गर्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । यस दिन नेपालीहरु विशेष रुपमा दही चिउरा खाने गर्दछन् । दहिचिउराले शरिरलाई शितल बनाउने जनविश्वास पनि रहेको छ । यस दिन रोपाई गर्नेहरुलाई पनि दही चिउराकै खाजा दिने चलन छ । तर धुमधामसंग रोपाई गर्ने चलन आज भोलि पातलिंदै गएको छ । आधुनिकताको नाममा यो साँस्कृतिक विरासत नै हराउँने त होइन भन्ने आशंका पनि गर्न थालिएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो भने हरेक वर्ष ५० लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ ।








