बोदेबर्साइन नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपियाँ प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिकाले ०८१ असार ८ गतेको ११औं नगरसभामा ल्याएको नीति कार्यक्रम र बजेटमा बालविवाह न्यूनीकरणका लागि २० वर्ष उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपियाँ प्रदान गर्ने उल्लेख छ ।
बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगर उपप्रमुख रेनुकुमारी साहले भन्नुभयो “यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौँ ।” उमेर पुगेर विवाह गर्ने दलित समुदायका महिलालाई २० हजार रुपियाँ नगद दिने र स्नातक उत्तिर्ण गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उपप्रमुख साहले यस्ता कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग पुग्ने बताउनु भयो ।
बालविवाह न्यूनीकरणको प्रयास भइरहे पनि हट्न नसकेकोले आकर्षक कार्यक्रम तय गरिएको नगर प्रमुख आतेशकुमार सिंहले बताउनु भयो । कानुनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन अझै कायमै रहेकोले यस्ता अभियानलाई जिल्लाभरी लैजान जरुरी रहेको जिल्ला बाल क्लब सञ्जालकी अध्यक्ष सलमा खातुनले बताउनु भयो ।
जिल्लाका विभिन्न पालिकाहरू र गैरसरकारी संस्थाहरूले बालविवाह न्यूनीकरणका लागि बालबालिका, अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरूलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन् । मधेस प्रदेशमा हालसम्म सप्तरीकै सुरुङ्गा नगरपालिका र खडक नगरपालिका मात्र बालविवाह मुक्त नगरपाालिका घोषणा भएको छ । सुरुङ्गा नगरपालिका २०७९ मङ्सिर १४ गते र खडक नगरपालिका २०८० पुस १३ गते बालविवाह मुक्त नगरपाालिका घोषणा भएको हो । सप्तरीकै कञ्चनरुप नगरपालिका २०७६ भदौ १९ गते मधेस प्रदेशको पहिलो तथा नेपालको तेस्रो बालमैत्री नगरपालिका घोषणा भएको हो ।
उमेर नपुग्दै विवाह हुने क्रम भइरहेकोले त्यसलाई रोक्नका लागि बजेट विनियोजन गरेर बालविवाह विरुद्धका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने नगरपालिकाको योजना रहेको वडा नम्बर ७ का वडा अध्यक्ष विजय नारायण कापैरले बताउनु भयो । कार्यक्रमको सफल कार्यान्वयको कामना गर्दै बालअधिकारकर्मी उपेन्द्र साहले बालविवाहले निम्त्याउने असर र त्यसबाट पर्ने दूरगामी प्रभावबारे बालबालिका र अभिभावकलाई सचेत बनाउन आवश्यक रहेको बताउनु भयो ।








