काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रेडियोधर्मी विकिरणको प्रयोग, सुरक्षा, र संरक्षण सम्बन्धी निरीक्षकहरूको १ महिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। यो तालिम मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले आयोजना गरेको थियो, जसको जानकारी विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले दिएका छन्।
तालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागबाट ९ जना प्रशिक्षार्थी सहभागी थिए। प्रशिक्षकहरू भौतिकशास्त्र केन्द्रीय विभाग, रसायन शास्त्र केन्द्रीय विभाग, वीर हस्पिटल, सिभिल हस्पिटल, भक्तपुर क्यान्सर हस्पिटल, नेपाल प्रहरी अस्पताल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायहरूबाट सहभागी थिए।
मन्त्रालयले ‘ट्रेनिङ मोडुल ट्रेनिङ फर रेडिएसन इन्सपेक्टर वर्किङ एण्ड रेगुलेटरी बडी’ तयार गरी रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन अनुसार नियमनकारी निकायको काम गर्दै आएको छ। सोही ऐन अन्तर्गत बनेको नियमावलीमा विकिरण निरीक्षकको व्यवस्था गरिएको छ। यो पदका लागि परमाणु विज्ञान वा परमाणु ईञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण र आयोनिकरण गर्ने विकिरणको प्रयोग, संरक्षण तथा सुरक्षा सम्बन्धमा नियमनकारी निकायले निर्धारण गरे अनुसारको कम्तीमा एक महिनाको तालीम प्राप्त गर्नुपर्ने व्यवस्था छ।
तालीम सफलतापूर्वक सम्पन्न भएकोमा मन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै भनिन्, “रेडियोधर्मी पदार्थसँग सम्बन्धित अभ्यास, क्रियाकलाप र संयन्त्रको नियमनमा प्रशिक्षकहरूले भूमिका खेल्नुहोला। यस वर्षको विज्ञानतर्फको एउटा माइलस्टोनमा रहेको यो कार्यक्रम सम्पन्न भएकोमा खुशी छु। शिक्षातर्फ मात्र होइन, विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि पनि मन्त्रालय उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेको छ।”








