काठमाडौं – सरकारले कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तामा थप ४ अर्ब ५ करोड खर्च गर्न महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिएको छ।
सोमबार अर्थमन्त्रालयले गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता र पारिश्रमिकमा थप बजेट निकासा माग आएकाले अख्तियारी प्रदान गर्न मन्त्रीस्तरीय निर्णय गरेको हो। सामाजिक सुरक्षा भत्ता, कर्मचारी पारिश्रमिक, र पदाधिकारी पारिश्रमिकका शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग भएको र अर्को क्रियाकलापमा रकम बाँकी रहेमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
उल्लेखित भुक्तानी निकासाबाट पनि अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तिभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्च गर्नेगरी महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए।








