काठमाडौं— सांसदहरूले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गरेपछि सांसदहरूले यस विषयमा जोड दिएका हुन्।
नेपालमा लगानीका लागि सहज स्थिति नहुँदा लगानीकर्ता निरुत्साहित भएको भन्दै सांसदहरूले सरकारलाई सहजीकरण गर्न ध्यानाकर्षण गराए।
सांसद देवेन्द्र पौडेलले सुशासन, समृद्धि र समाजवादको दिशामा अगाडि बढ्न लगानी आवश्यक रहेको बताए। उनले उद्योग मन्त्रालयले कम्तिमा दश वर्षमा निश्चित लगानी गरेर रोजगारी सिर्जना गर्न काम गर्न जरुरी रहेको उल्लेख गरे। उनले वन क्षेत्र, खानेपानी, बिजुली र जमिनको उचित प्रवर्द्धन गरेर लगानीकर्तालाई प्रोत्साहन गर्न उद्योगमन्त्रीको ध्यानाकर्षण गराए।
सांसद रमेश लेखकले लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए। सांसद डा. अमरेसकुमार सिंहले लगानी प्रक्रिया निष्पक्ष र सरल हुनुपर्ने बताए। उनले राजनीतिक अवस्था र विचौलिया प्रवृत्तिका कारण लगानी प्रभावित भइरहेको बताए।
सांसद गणेश पराजुली, असिम साह, नागीना यादव, जुलीकुमारी महतो (महासेठ), र निशा डाँगीलगायतले पनि लगानी सहजीकरणका सम्बन्धमा आफ्ना धारणा राखे।








